जीतपुरसिमरा १६ को लामा टोलमा सडक ढलान तथा कल्भर्ट निर्माणको शिलान्यास

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १६ अन्तर्गत लामा टोलमा वडा स्तरीय वार्षिक बजेटबाट सञ्चालित कल्भर्ट तथा सडक ढलान योजनाको शिलान्यास सम्पन्न भएको छ।
१० लाख रुपैयाँको बजेटमा निर्माण हुने उक्त संरचनाको शिलान्यास प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री ज्वालाकुमारी साहले गरेकी हुन् । कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलको विशेष उपस्थिति रहेको थियो।
शिलान्यास समारोहमा बोल्दै साहले स्थानीय पूर्वाधारको विकासले जनजीवन सहज बनाउने उल्लेख गर्दै योजना गुणस्तरीय बनाउन सम्बन्धित पक्षलाई आग्रह गरिन् ।
वडाध्यक्ष खरेलले चालु आर्थिक वर्षमा वडाभित्र एक करोड २९ लाख रुपैयाँ बराबरका विभिन्न योजना सञ्चालनमा रहेको जानकारी दिए । उनले वडाका योजनासँगै नगर, प्रदेश र केन्द्र सरकारबाट प्राप्त बजेटमार्फत अन्य विकास निर्माणका कार्यहरू समेत तीव्र रूपमा अघि बढाएको बताएका छन् ।
स्थानीय बासिन्दाहरूले योजना सुरु भएकोमा खुसी व्यक्त गरेका छन् । कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।