मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेट: पिएफएम मूल्यांकन अन्तिम चरणमा

सिमराः मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) मूल्यांकन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। एशियन डेभलपमेन्ट बैंक (एडीबी) को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको यो प्रक्रिया बजेट कार्यान्वयनमा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारितालाई बढावा दिन केन्द्रित गरिएको हो ।
एडीबी प्रतिनिधिमण्डलले बिहीबार जनकपुरधाममा मुख्यमन्त्री सतिशकुमार सिंहसंग भेट गरी मूल्यांकनको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएको छ। एडीबीका निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वमा आएको टोलीले अहिलेसम्मको मूल्यांकन प्रक्रिया, प्रारम्भिक नतिजा र सुधारका सम्भावनामाथि विस्तृत छलफल गरेको हो ।
भेटमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साह, साथै एडीबीका वरिष्ठ अधिकृत जुलिका र कृष्ण पाठकको उपस्थिति थियो।
प्रदेश सरकारले सार्वजनिक वित्तीय प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले यो मूल्यांकन अगाडि बढाएको बताइएको छ। एडीबी प्रतिनिधिमण्डलका अनुसार नेपालमा यसअघि गण्डकी प्रदेशले पिएफएम मूल्यांकन प्रक्रिया पूरा गरिसकेको छ ।
मूल्यांकन पश्चात प्राप्त हुने सुझाव तथा प्रतिवेदनमार्फत प्रदेश सरकारले बजेट निर्माण, कार्यान्वयन र अनुगमन प्रक्रियालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
