गर्मी अत्यधिकरुपमा बढेपछि पथलैयास्थित होली गार्डेनद्धारा दुई दिन बिदा

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित होली गार्डेन इङ्लिस स्कुलले अत्यधिक गर्मीका कारण दुई दिनका लागि बिदा दिएको छ ।
विद्यालयका प्रिन्सिपल भूवन राईका अनुसार गर्मीका कारण विद्यार्थीलाई असहज भएपछि बिहीबार र शुक्रबार दुई दिन बिदा दिइएको हो ।
विद्यालय आइतबारदेखि नियमित सञ्चालनमा आउनेछ । मधेश प्रदेशमा तापक्रम तीव्र रूपमा बढिरहेको छ । जसका कारण जनजीवन समेत प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण विशेषगरी विद्यालय विद्यार्थीहरु बढी समस्यामा छन् ।
यता, जीतपुरसिमरा उपमहानगरपालिकाले भने हालसम्म आधिकारिक रूपमा विद्यालय बिदा दिने निर्णय गरेको छैन । तर स्थानीय विद्यालयहरूले आफ्नै निर्णयमा विदा दिन थालेका छन् ।