वीरगन्जमा न्यायाधीशहरूको सुरक्षामा हेरफेर, उच्च अदालत प्रवेशमा कडाइ


eShilalekh

३० जेष्ठ २०८२, शुक्रबार १५:०७

वीरगन्जः उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरूको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर गरिएको छ । नेकपा बहुमतका कार्यकर्ताबाट न्यायाधीश खुशीराम थारुमाथि मोसो छ्यापिएको घटनापछि सुरक्षा व्यवस्था परिवर्तन गरिएको हो ।

पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता किशोर लम्सालका अनुसार घटनापछि अदालतमा कार्यरत १३ जना न्यायाधीशका प्रमुख सुरक्षा अधिकृत (पीएसओ) तथा अदालतको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको कमान्डमा रहेको १० सदस्यीय टोलीलाई फिर्ता बोलाइएको छ ।

बोलाइएका पीएसओको स्थानमा नयाँ सुरक्षाकर्मी खटाइएको छ भने अदालत परिसरको समग्र सुरक्षा व्यवस्था पनि थप कडाइ गरिएको छ । पहिले १० जना प्रहरी खटिएकोमा अब १५ जना नयाँ प्रहरी अदालतको सुरक्षामा परिचालन गरिएको छ ।

अदालतको मुख्य गेटमा सुरक्षा चेकजाँच कडा पारिएको छ । अब अदालत प्रवेश गर्ने सेवाग्राही, कानून व्यवसायी र सर्वसाधारणहरूलाई कडाइपूर्वक जाँचपछि मात्र प्रवेश गराइने व्यवस्था लागू गरिएको छ ।

न्यायाधीशमाथि भएको आक्रमणलाई गम्भीर रूपमा लिँदै सुरक्षा व्यवस्थामा गरिएको परिवर्तन पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । मिश्रले घटनाबारे अनुसन्धान भइरहेको र दोषीमाथि आवश्यक कारबाही गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्