मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित


eShilalekh

३० जेष्ठ २०८२, शुक्रबार १६:२५

जनकपुरधामः मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र वाचन गर्दै सांसद कुशवाहा निलम्बनमा परेको जानकारी दिएका हुन् ।

सांसद कुशवाहा बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए । उनी महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी सरकारी रकम निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गराई त्यसबाट आफ्नो खातामा ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा देखिएको छ । यसअघि उनका निजी सचिव कायस्थ महोत्तरीबाट नै पक्राउ परिसकेका थिए ।

मधेश प्रदेशसभामा हाल कुल १०७ जना सांसद छन् । सांसद कुशवाहा निलम्बनसँगै हालसम्म तीन जना सांसद निलम्बनमा परिसकेका छन् । यसअघि सांसद दीपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्