सिमराबाट स्रोत नखुलेको १३ लाख नगदसहित एक पक्राउ


eShilalekh

३० जेष्ठ २०८२, शुक्रबार १६:४४

सिमराः प्रहरीले स्रोत नखुलेको १३ लाख नगदसहित सिमराबाट शुक्रबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ का २० वर्षीय सुरज कुशवाहा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको नेतृत्वमा रहेको प्रहरी टोलीले कुशवाहालाई सिमराको एयरपोर्ट रोडबाट पक्राउ गरेको हो । कुशवाहाले बोकेको झोलाबाट १३ लाख सात हजार पाँच सय रुपैया बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुशवाहाको झोलाबाट एक हजार दरका एक हजार सतसठ्ठी थान, पाँच सय दरका चार सय ८० थान र एक सय दरका पाँच थान नोट बरामद गरिएको छ । झोलाबाट विभिन्न बिल, भौचर, कागजातहरू र सागर मनी ट्रान्सफर वीरगञ्ज लेखिएको स्टाम्प समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

कुशवाहाले उक्त रकमको स्पष्ट स्रोत नखुलाएपछि हुण्डीको कारोवारको आशंका प्रहरीले गरेको छ । स्रोत नखुलाएका कारण हुण्डी कारोबारसम्बन्धी मुद्धामा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्