पाँचथरमा बेलिब्रिज खस्दा जीतपुरसिमरा फत्तेपुरका तीन जनाको मृत्यु, तीन घाइते

सिमराः मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा बारा जीतपुरसिमरा उपमहानगरपालिकाका तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।
बेलिब्रिज खस्दा जीतपुरसिमरा १२ का २२ वर्षीय रुपलाल चौधरी, २२ वर्षीय राकेश चौधरी, २७ वर्षीय राजन चौधरीको मृत्यु भएको हो । उनिहरुले उपचारका क्रममा ज्यान गुमाएका थिए ।
यसैगरी घटनामा फत्तेपुरकै २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबल अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
मृतक र घाइते सबै निर्माणाधीन बेलिब्रिजमा मजदुरकारुपमा कार्यरत थिए । २०८० असार २ गतेको बाढीले उक्त ठाँउमा रहेको पक्की पुल बगाएपछि त्यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो । उक्त बेलिब्रिज समेत २०८१ असोज १२ गते आएको बाढीले बगाएपछि दोस्रो पटक बेलिब्रिज निर्माण गर्ने काम भईरहेको थियो ।
घटनापछि बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक बिक्रम शाह, नेपाली कांग्रेसका नगर सभापति छवि शर्माले दुःख व्यक्त गरेका छन् । यता सांसद श्रेष्ठले प्रतिनिधिसभा बैठकमा बोल्दै मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गराउन सरकारसंग माग गरेका छन् ।