बागमतीका मेयर भरतबहादुर थापालाई ५० लाख धरौटीमा छाड्न आदेश

सर्लाहीः बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख (मेयर) भरतबहादुर थापालाई सर्लाही जिल्ला अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले थापालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार मेयर थापा आइतबार नै अदालतमा हाजिर भएका थिए ।
वन ऐन उल्लंघन गर्दै अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्याएको आरोपमा थापाविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा थापाविरुद्ध एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार बिगो माग दाबी गरिएको छ ।
मुद्दामा बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीसमेत प्रतिवादी बनाइएका छन् । तर, थापा बाहेक अन्य पाँच प्रतिवादी भने अदालतमा अझै हाजिर भएका छैनन् ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरत ताल निर्माणमा अनियमितता गरेको अभियोगमा मेयर थापाविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरिसकेको छ । उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ ।