जनगुनासोपछि यातायात कार्यालय बारामा मन्त्री रायको अनुगमन

सिमराः सेवाग्राहीको तीव्र गुनासोपछि मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालय पुगेर अनुगमन गरेका छन् । कार्यालय प्रमुखदेखि कर्मचारीसम्मको ढिलासुस्ती र गैरजिम्मेवार कार्यशैलीको गुनासो बढ्न थालेपछि मन्त्री रायले अनुगमन गरेका हुन् ।
मन्त्री रायले कार्यालयमा पुगेर कार्यसम्पादन र कर्मचारीको विषयमा जानकारी लिएका थिए । मन्त्री रायले समयमा नआउने र सेवाग्राहीलाई झुलाउने कर्मचारीमाथि कारबाहीको चेतावनी समेत दिएका छन् ।
कलैयामा रहेको यातायात कार्यालयमा सेवाग्राहीको गुनासो लामो समयदेखि छ । सेवाग्राहीहरूले कार्यालयमा अनियमितता, ढिलासुस्ती र अव्यवस्थित सेवा प्रवाहको विषयमा गुनासो गर्दै आएका थिए । सेवाग्राहीको गुनासोलाई कार्यालय प्रमुख र कर्मचारीले बेवास्था गरिरहेका थिए ।
गुनासो बढेको भन्दै अनुगमनमा आएका मन्त्री रायलाई कार्यालय प्रमुख अरविन्द दासले कार्यसम्पादन र सेवाप्रवाहको विषयमा जानकारी गराएका थिए । अनुगमनका क्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, नेपाली कांग्रेसका युवा नेता राजेश रौनियारलगायत उपस्थित थिए ।
मन्त्री रायको अनुगमन आकस्मिक र छड्के भनिएपनि खाँदा र मालाको व्यवस्थाले पूर्वतयारी देखिएको छ । अनुगमनपछि सेवा प्रवाहमा सुधार आउने अपेक्षा आफूहरुको रहेको सेवाग्राहीको भनाई छ ।