पचरौता नगरपालिकाको १४औं नगरसभा सम्पन्न, ६५ करोड ३१ लाखको बजेट प्रस्तुत

सिमरा: पचरौता नगरपालिकाको १४औं नगरसभा सोमबार सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६५ करोड ३१ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।
नगरप्रमुख जलान्धर सिंहको अध्यक्षतामा बसेको नगरसभामा आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरियो । प्रमुख सिंहले नगरको समग्र विकासमा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिने बताए।

नगरप्रवक्ता लक्ष्मी यादवले बजेट प्रस्तुति गर्दै नगरको समृद्धिका लागि स्रोतको अधिकतम उपयोग गरिने उल्लेख गरे । उनले प्रस्तुत गरेको बजेटमा नगरबासीको जीवनस्तर सुधार, रोजगार सिर्जना, आधारभूत सेवा प्रवाहमा प्रभावकारिता, महिला सशक्तिकरण र युवा लक्षित कार्यक्रमहरू समावेश गरिएको जनाइएको छ ।
यस वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ भने सामाजिक सुरक्षा, सरसफाइ, खानेपानी, विपद् व्यवस्थापन र सुशासन प्रवर्द्धनका कार्यक्रमहरू पनि बजेटमा समेटिएका छन् ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशी, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार, सरोकारवालाहरूको उपस्थिति थियो।