जनचासो, पारदर्शिता र कार्यसम्पादनलाई आधार मानेर योजना तर्जुमा गरिने मन्त्री लेखीको भनाइ

सप्तरीः मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जनताको चासो, पारदर्शिता र कार्यसम्पादनको मूल्यांकनलाई आधार बनाई योजना तर्जुमा तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २ को कार्यालयले मंगलबार आयोजना गरेको भेलामा बोल्दै मन्त्री लेखीले प्रदेश सरकारका विगतका योजनाहरू जनसहभागिता र पारदर्शिताका आधारमा तय गरिएको र आगामी आर्थिक वर्ष २०८२।८३ का योजना पनि सोही आधारमा निर्माण गरिने स्पष्ट पारे ।
‘प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका योजना र कार्यक्रमहरू वडास्तरमै प्रभावकारी हुनु आवश्यक छ । जनप्रतिनिधि र समुदायको भूमिकाले नै योजनाहरू सफल बनाउँछ’ मन्त्री लेखीले भने ।
वडा नम्बर २ को चालु आर्थिक वर्ष २०८१।८२ को प्रगति समीक्षा तथा आगामी वर्षका योजनाहरू तर्जुमा गर्न भेलाको आयोजना गरिएको थियो । वडा अध्यक्ष जाहिर हुसेनको अध्यक्षतामा सम्पन्न भएको भेलामा नगर प्रमुख कृष्णप्रसाद ढकाल, पूर्व नगर प्रमुख उत्तम गौतमलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सामाजिक अभियन्ता र स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।