यातायात कार्यालय वीरगन्जका अधिकृत गौतमविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

वीरगन्जः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी अनुमति पत्र पर्साका अधिकृत कमल राज गौतमविरुद्ध अकुत आर्जन गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
२०५५ सालमा सेवा प्रवेश गरेका गौतमले २०७९ साल चैत महिनासम्मको अवधिमा आफ्नो वैध आयभन्दा दुई करोड ५१ लाख ७८ हजार रुपैयाँ बढी सम्पति आर्जन गरेको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो । उक्त सम्पत्तिको कुनै स्रोत खुल्न नसकेको आयोगको ठहर छ ।
गौतमले गैरकानुनी रूपमा सम्पति आर्जन गरेको उजुरीका आधारमा प्रारम्भ भएको अनुसन्धानमा स्रोत नखुलेको रकम पाइएको अख्तियारले जनाएको छ । आयोगले सो सम्पत्तिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जफत गरी कानुनी कारबाही अघि बढाउन विशेष अदालतमा बिगो दाबी सहितको आरोपपत्र दायर गरेको छ ।
यसैसाथ गौतमकी श्रीमती सरला नेपाललाई समेत प्रतिवादी बनाइएको छ । आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरिएको सम्पति गौतमले श्रीमतीको नाममा राखी विवरण लुकाउने काम गरेको आरोपको भनाई छ । सम्पति लुकाउने कार्यमा संलग्न भएकै कारण श्रीमती सरलाविरुद्ध पनि मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्धारा जारी सूचनामा उल्लेख छ ।