मधेश प्रदेशमा ठूलो पानी पर्ने सम्भावना


eShilalekh

४ असार २०८२, बुधबार १३:३३

सिमराः हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी प्रणाली मधेशसहित कोशी, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भू–भागमा सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भू–भागमा भने पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । महाशाखाका अनुसार भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यून चापीय क्षेत्रको समेत नेपालमा आंशिक प्रभाव रहेको छ ।

राति मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । साथै उच्च–पहाडी तथा हिमाली भू–भागका एक दुई ठाउँमा हल्का हिमपातको पनि अनुमान गरिएको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले आजदेखि तीन दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तल रहने भए पनि घटबढ भइरहने जनाएको छ ।

नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्