सर्लाहीमा ४२ लाखभन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा


eShilalekh

४ असार २०८२, बुधबार १७:११

सिमराः सर्लाही प्रहरीले बुधबार बिहान ४२ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले बागमती नगरपालिका १२ स्थित चेकपोष्टबाट उक्त ट्रकलाई नियन्त्रणमा हो ।

वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ख ३०७ नम्बरको ट्रकलाई रोकेर जाँच गर्दा ठुलो परिमाणमा खुद्रा सामानहरू फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकभित्र टायर, आँपमा छर्ने विषादी, मोबिल, खाने तेल, ग्यास रेगुलेटर, मोटरपार्ट, छाता, घिउ, किसमिस, इलेक्ट्रोनिक र कस्मेटिकलगायत सामानहरू रहेको र बिलबिजक शंकास्पद देखिएको छ ।

बरामद गरिएका सामानहरूको अनुमानित मूल्य रु ४२,४०,३४७ (बयालिस लाख, चालीस हजार, तीन सय सत्तचालीस) रहेको प्रहरीले जनाएको छ ।

सामानसहितका ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीकालागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्