फेटाको स्थिति सामान्य बन्दै, घाइते बालकको उपचार जारी

सिमरा : १५ शैय्याको नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर बाराको फेटाको स्थिति तनावपूर्ण बनेपछि सुरक्षा अवस्था कडा पारिएको छ। स्थिति थप बिग्रन नदिन १५० भन्दा बढीको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन्।
सुरक्षाकर्मी परिचालित भएसँगै फेटास्थित अस्पताल वरपरको अवस्था अहिले सामान्य बन्दै गएको छ। यसअघि प्रहरीले चलाएको गोली लागेर १५ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएपछि स्थिति तनावपूर्ण बनेको थियो। घाइते बालकको अहिले वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको शरीरबाट गोली निकालिएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।
प्रहरीको गोली लागेर बालक घाइते भएपछि आक्रोशित स्थानीयले अस्पताल तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी गरेका थिए। स्थानीयले प्रहरीको एउटासहित १० वटा मोटरसाइकलमा आगो लगाएका छन्।
स्थिति थप बिग्रन नदिन जिल्लास्थित सुरक्षा समितिको बैठक बसेको छ। बैठकले स्थिति शान्तिपूर्ण बनाउनका लागि दुबै पक्षसँग संवाद गर्नुका साथै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले बताए। वर्तमान अवस्था सामान्य बन्दै गएको र अवस्था हेरेर मात्रै थप निर्णय लिने प्रजिअ अधिकारीको भनाइ छ।
काम सम्पन्न नहुँदै उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष र रास्वपा सांसदको तयारीले स्थानीयको विरोध
फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर केही दिनदेखि विवाद सुरु भएको हो। हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको तत्कालिन विवेकशील साझा पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले शनिबार दिउँसो १ बजे अस्पताल उद्घाटन गर्ने कार्यक्रम राखेका थिए।

अस्पतालको उद्घाटन गर्न रास्वपा सांसद एवम् तत्कालिन विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा आउने तयारी थियो। तर गाउँपालिकाका पूर्वअध्यक्ष अमिरीलाल प्रसाद, वडा नं. ३ का पूर्ववडाध्यक्ष उपेन्द्र साह, शिक्षक लालबाबु साहलगायतका स्थानीयले पूर्णरुपमा काम सम्पन्न नहुँदै अस्पताल उद्घाटन नगर्न अनुरोध गरेका थिए। उनीहरुले अस्पताल उद्घाटनको कार्यक्रम रोक्न स्थानीय प्रशासनलाई ध्यानाकर्षण समेत गरेका थिए।
स्थानीयका अनुसार अस्पतालमा विद्युत, फर्निचरलगायतका काम सम्पन्न हुन बाँकी नै थियो। काम पूर्णरुपमा सम्पन्न गरेर मात्रै अस्पताल उद्घाटन गर्न उनीहरुले आग्रह गरिरहेका थिए। तर गाउँपालिकाका अध्यक्ष अंसारी भने उद्घाटन कार्यक्रम पछाडि सार्न तयार थिएनन्। उनले रास्वपा सांसद बास्कोटाको उपस्थितिमा जसरी पनि उद्घाटन गर्ने तयारी गरेका थिए।
विवादकाबीच अस्पताल उद्घाटन गर्न सांसद बास्कोटा बारा आइपुगेकी थिइन्। स्थिति तनावपूर्ण बन्ने देखेपछि स्थानीय प्रशासनले उद्घाटनको कार्यक्रम तत्काल स्थगन गर्न गाउँपालिका अध्यक्ष अंसारीलाई आग्रह गरेको थियो। तर अंसारीको अडानकाबीच प्रशासनले उद्घाटन कार्यक्रम रोक्न सकेन। अंसारीले नमानेपछि प्रशासनले विपक्षमा रहेका स्थानीयलाई विरोध नगर्न समेत आग्रह गरेको थियो। तर दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि स्थिति बिग्रिएको हो।

अस्पताल उद्घाटनको विपक्षमा रहेका स्थानीयले शनिबार बिहान ९ बजेदेखि विरोध सुरु गरेका थिए। विरोधका क्रममा स्थानीयले अस्पताल परिसरमा लगाइएको टेन्ट र शिलालेख भत्काएका थिए। विरोधमा रहेका स्थानीय जसरी पनि उद्घाटन रोक्ने तयारीमा थिए।
यसैबीच इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामा नेतृत्वको प्रहरी टोलीले पूर्वअध्यक्ष प्रसाद र पूर्ववडाध्यक्ष साहलाई नियन्त्रणमा लिने प्रयास गरेपछि दोहोरो झडप सुरु भएको थियो। झडपकै क्रममा स्थानीयले प्रहरी र नवनिर्मित अस्पताल भवनमा ढुङ्गा प्रहार गरेका थिए। सोही क्रममा प्रहरीले गोली चलाउँदा बालक घाइते भएका हुन्। बालक घाइते भएपछि स्थिति झन् बिग्रिएको हो।
स्थानीयले ढुङ्गा प्रहार गर्न थालेपछि अस्पतालमा सुरक्षाकर्मी, कर्मचारी र केही सञ्चारकर्मी थुनिएका थिए। सञ्चारकर्मी बाहिर निस्कन सफल भएपनि सुरक्षाकर्मी र कर्मचारीलाई थप मद्दतका लागि पुगेको प्रहरी टोलीले केही समयपछि उद्धार गरेको थियो। दोहोरो झडप हुँदा शिक्षक साहसहित केही स्थानीय र प्रहरी घाइते भएका छन्।





