पर्सा प्रहरीद्वारा मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जना पक्राउ

सिमराः पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन माडी नगरपालिका ८ का ४१ वर्षीय दीपक खड्का रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका २ स्थित ठोरी बजार नजिकबाट चार जना नेपाली युवतीलाई भारततर्फ लैजाँने लागेको अवस्थामा प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार पक्राउ परेका खड्काले युवतीहरुलाई फ्रिभिसा र फ्रिटिकटमा वैदेशिक रोजगारीकालागि दुबई र ओमान पठाइदिने प्रलोभन देखाउँदै भारततर्फ लैजाँदै थिए ।
खड्कामाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।