नन्दु राउत कुर्मी हत्या प्रकरणः एकै परिवारका चारसहित पाँच जना पक्राउ


eShilalekh

६ असार २०८२, शुक्रबार १६:०२

कलैयाः बारा प्रहरीले जेठ २९ गते कलैयामा भएको कुटपिट र हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका १४ बघवनका ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या प्रकरणमा प्रहरीले एकै परिवारका चारसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बघवनका ३८ वर्षीय उमेश जयसवाल, उनको श्रीमती ३५ वर्षीय रञ्जुदेवी, उनको २० वर्षीय छोरा सुमित र १८ वर्षीय छोरा सुजित रहेका छन् । यसैगरी प्रहरीले कुटपिटमा संलग्न रहेका ३४ वर्षीय दिगम्बर प्रसाद जयसवाललाई पक्राउ गरिसकेको छ ।

प्रहरीले घटनाको मुख्य आरोपित उमेशलाई बिहीबार बिश्रामपुर गाउँपालिकाबाट पक्राउ गरेको हो भने उनको श्रीमती रञ्जुदेवीलाई असार ४ गते कलैयाबाट नियन्त्रणमा लिएको हो । उनि कलैयास्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेकी हुन् ।

यसैगरी उमेशका दुई छोरा सुमित र सुजित वीरगन्ज महानगरपालिका १ शान्तिटोलबाट असार ४ गते राति पक्राउ परेका हुन् । आमा रञ्जुदेवी पक्राउ परेको केही घण्टापछि प्रहरीले छोराहरुलाई पनि नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा दिगम्बर प्रसादलाई प्रहरीले जेठ ३० गते बघवनबाटै नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्तिहरुले कुर्मीलाई बघवनस्थित एक राईस मिल अगाडी कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट गम्भीर घाइते कुर्मीको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि मृतकका छोरा दीपेन्द्र पटेलले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी दिएकोमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मृतक नन्दु राउत कुर्मीकी नातिनी र करैयामाई गाउँपालिका ७ का गौतम पासवानबीच भएको भेटघाटको विषयलाई लिएर विवाद भएको थियो । मृतककी पत्नीले उक्त भेटघाट गराएको विषयमा मुख्य आरोपित उमेशका कान्छा छोरा सुजितलाई हातपात गरेकी थिईन् । मृतककी पत्निले हातपात गरेको भन्दै रिसईबी साध्न जयसवाल परिवारले कुर्मीमाथि कुटपिट गरेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्