फेटा गाउँपालिकाले ल्यायो ४० करोडको बजेट

कलैयाः फेटा गाउँपालिकाको १६औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२।८३ का लागि ४० करोडको बजेट पारित गरेको छ ।
गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले ४० करोड ९ लाख २२ हजार तीन सय ४४ रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । अध्यक्ष अंसारीले समावेशी विकासलाई केन्द्रमा राख्दै विभिन्न प्राथमिक क्षेत्रमा लक्षित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
बजेट प्रस्तुतीका क्रममा अध्यक्ष अंसारीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखेको बताए । उनले चालु खर्च, पुँजीगत खर्च र विशेष परियोजनाहरूलाई समुचित रूपमा व्यवस्थापन गर्दै पारदर्शी तथा उत्तरदायी शासन व्यवस्था कायम गरिने प्रतिबद्धता पनि जनाए ।
शिक्षा र स्वास्थ्यमा विशेष जोड
नीति तथा कार्यक्रममा विद्यालय सुधार, विद्यार्थीलाई वृत्तिको अवसर तथा डिजिटल शिक्षण उपकरणको उपलब्धतामार्फत शिक्षालाई प्रविधिमैत्री बनाइने जनाइएको छ । स्वास्थ्य क्षेत्रमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्दै सर्वसुलभ र गुणस्तरीय सेवा सुनिश्चित गरिने उल्लेख छ ।

कृषि र पूर्वाधारमा बजेटको प्रभावकारी परिचालन
कृषकलाई अनुदान, बीउबिजन वितरण तथा सिँचाइ पूर्वाधार विस्तारमा बजेट विनियोजन गरिएको छ । सडक, खानेपानी, विद्युत, तथा सरसफाइजस्ता आधारभूत पूर्वाधारमा विशेष ध्यान दिइने जनाइएको छ ।
जनसहभागिता र पारदर्शितालाई प्राथमिकता
अध्यक्ष अंसारीले बजेट निर्माणमा नागरिक सुझावलाई समावेश गरिएको बताउँदै, वडास्तरीय सन्तुलित विकास सुनिश्चित गरिने धारणा राखेका छन् । बजेट कार्यान्वयनमा जनसहभागिता, पारदर्शिता र अनुगमन प्रणालीलाई अझ सशक्त बनाइने पनि अंसारीले बताए ।
गाउँसभामा उपाध्यक्ष निलम साह, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद तिवारी, लेखा प्रमुख भोला यादव, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
