एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक हुने, कक्षा ११ को भर्ना प्रभावित

सिमराः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले यसअघि नै असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका बनाएको थियो। तर शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा परिणाम प्रकाशन प्रभावित भएको हो।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार गत वर्ष चैत २० देखि वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ३२ दिन ढिलो भएको हो। उक्त ढिलाइका कारण नतिजा प्रकाशन प्रक्रिया पनि पछि सरेको भट्टराईले जानकारी दिए।
‘हामीले अहिले रातदिन काम गरिरहेका छौँ’ उनले भने ‘३२ दिनको ढिलाइलाई १० देखि १६ दिनमा झार्ने प्रयासमा छौँ।’ हाल उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण सकिएर अङ्क इन्ट्रीको काम भइरहेको छ।
चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए। नतिजा ढिलाइका कारण कक्षा ११ को भर्ना प्रक्रिया पनि पछि सर्ने भएको छ।
बोर्डको वार्षिक कार्यतालिकाअनुसार असार ६ गतेभित्र नतिजा प्रकाशन, असार २२ गतेभित्र पुनर्योगको आवेदन, साउन १२ गते पुनर्योगको नतिजा, साउन १९–२० मा पूरक परीक्षा र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा सार्वजनिक गर्ने उल्लेख थियो। तर अब उक्त तालिकामा पनि परिवर्तन हुने देखिएको छ।