जीतपुरसिमराको १२औं नगरसभाको पहिलो बैठक सुरु भएलगत्तै स्थगित, दोस्रो बैठक असार १८ गते

कहाँ अड्कियो जीतपुरसिमराको नगरसभा ?
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको १२औं नगरसभाको पहिलो बैठक शुरु भएलगत्तै स्थगित भएको छ । नगरसभा अध्यक्ष एवम् नगर प्रमुख राजन पौडेलले नगरसभाको पहिलो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै स्थगित गरेका थिए ।
नगर प्रमुख पौडेलले असार १८ गते दोस्रो बैठक बस्ने जानकारी नगरसभा सदस्यलाई गराएका छन् । नगरसभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम, बजेट, विधेयक कार्यपालिकाबाट पारित भएर नआएकाले पहिलो बैठक स्थगित गरिएको नगर प्रमुख पौडेलले बताएका छन् ।
‘नगरसभा प्रस्तुत गर्ने विषय कार्यपालिका बैठकले पारित गर्नुपर्ने हुन्छ । त्यो पारित नभएकाले आजको सभामा प्रस्तुत गर्ने विषय नै छैन’ बैठक स्थगित गर्दै नगर प्रमुखले भने ‘त्यसैले पहिलो बैठक सुरुवात गर्दै स्थगित गरिएको छ र अर्को बैठक असार १८ गते बस्नेछ ।’
नगर कार्यपालिकाको ४२औं बैठक आइतबार उपमहानगरपालिकाको कार्यालयमा बसेको थियो । उक्त बैठकमा नगरसभाको बजेट तथा नीति तथा कार्यक्रमको विषयमा सहमति जुटन सकेको थिएन ।
बैठकमा सहमति जुट्न नसकेपछि उपप्रमुख भोलाप्रसाद अधिकारीसहित १८ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकको एजेण्डामा सहमति जुट्न नसकेकाले प्रमाणिकरण गरेमा असहमति रहेको पत्र प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंलाई बुझाएका थिए ।
कार्यपालिका सदस्यका अनुसार बजेट र वडा सिलिङका विषयमा सहमति जुट्न नसकेपछि कार्यपालिका बैठक अनिर्णित बनेको थियो । उक्त बैठकमा आर्थिक वर्ष २०८२।८३ का लागि बाँडफाँड योग्य रकमबाट बजेट विभाजन गर्ने विषयमा कार्यपालिकाभित्र सहमति जुटन सकेको छैन ।
स्रोतका अनुसार नगरसभा सञ्चालनका लागि आइतबार कार्यपालिका बैठकपछि र सोमबार छलफल भएको थियो । छलफलमा रकम बाँडफाँडकै विषयमा सहमति जुट्न सकेन ।
नगर प्रमुख पौडेलले बाँडफाँड योग्य रकमको ५० प्रतिशत नगर प्रमुखले पाउनुपर्ने र ५० प्रतिशत रकम उपप्रमुखसहित २४ वटा वडा कार्यालयलाई दिन सकिने बताउँदै आएका छन् । तर उपप्रमुखसहित वडाध्यक्ष र कार्यपालिका सदस्यले भने बाँडफाँड रकमको ३० प्रतिशत नगर प्रमुख, १० प्रतिशत उपप्रमुख, ५६.५ प्रतिशत वडा र ३.५ प्रतिशत कार्यपालिका सदस्यले पाउनुपर्ने बताईरहेका छन् ।
लगातारको छलफलमा नगर प्रमुख पौडेल ३५ प्रतिशतमा सहमति गर्न तयार छन् । तर उनले बाँडफाँड गर्ने रकमको दायरा ३० करोड हुनुपर्ने बताईरहेका छन् । त्यसभन्दा माथि बढ्न सक्ने अवस्था नरहेको र नगर थेग्न नसक्ने पौडेलको भनाई छ ।
तर उपप्रमुख अधिकारीसहित वडाध्यक्ष र कार्यपालिका सदस्यको भनाई बाँडफाँड गर्ने रकमको दायरा ४० करोड हुनुपर्ने भनाई छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले ४० करोड रकम बाँडफाँड गर्न सकिने अवस्था भएकाले सोही अनुसार रकम बाँडफाँड गर्न प्रयास गर्दा नगर प्रमुखले स्विकार नगरेको बताए ।
‘यो वर्ष ४० करोड बजेट बाँडफाँड गर्न सकिने अवस्था देखिएको छ । हामीले त्यही रकमलाई मिलाएर बजेट निर्माण गरौं भन्दा सहमति हुन सकिरहेको छैन’ वडाध्यक्ष श्रेष्ठले भने ‘यो विषयमा नगर प्रमुख गम्भीर हुनुपर्छ । हामीले ठूला माग राखेका छैनौं, जायज माग मात्रै राखेका हौं ।’
अघिल्लो वर्ष जीतपुरसिमराका २४ वटा वडाले २७ करोड बजेटबाट योजना संचालन गरेका थिए । यो वर्ष ४० करोड रकमबाट बाँडफाँड गरेर ५६.५ प्रतिशत वडालाई छुट्याउँदा २४ वटा वडाको बजेट २२ करोड ६० लाख मात्रै हुने देखिन्छ । वडाको बजेट खुम्चिरहेको अवस्थामा पनि आफूहरु सहमति गर्न तयार रहेको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।