रौतहटमा सेफ्टी ट्यांकीमा खसेर दुई नाबालकको मृत्यु

रौतहट: रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा मंगलबार साँझ सेफ्टी ट्यांकीमा खसेर दुई नाबालकको ज्यान गएको छ। मृत्यु हुनेमा गरिमा साहका एक वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह रहेका छन्।
दुवै बालबालिका खेल्ने क्रममा साँझ करिब पौने ८ बजे स्थानीय हृदय पासवानको घरको शौचालयसँगै रहेको सेफ्टी ट्यांकीमा खसेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।
घटनापछि दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएको थियो । तर चिकित्सकले दुबै बालबालिकालाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।