पैदल यात्रुलाई ठक्कर दिई फरार भएको विद्युत प्राधिकरणको गाडी नियन्त्रणमा


eShilalekh

११ असार २०८२, बुधबार १३:१०

जनकपुरधामः धनुषाको ढल्केवर–जनकपुर सडकखण्डमा पैदल यात्रुलाई ठक्कर दिई फरार भएको एक सरकारी गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनामा सिरहाका एक जनाको मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार बागमती प्रदेश–०१–००१ञ २६५४ नम्बरको निसान जिप र चालक जनकनन्दनी गाउँपालिका ३ का २९ वर्षीय कौशलकुमार शर्मालाई नियन्त्रणमा लिइएको हो ।

नेपाल विद्युत प्राधिकरण रत्नपार्कको नाममा दर्ता रहेको उक्त गाडीले गत शुक्रबार धनगढीमाई नगरपालिका ६ का ५२ वर्षीय विन्देश्वर मोचीलाई ठक्कर दिएको थियो । मोचीको उपचारका क्रममा निधन भएको थियो ।

प्रहरीले सिसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्ने क्रममा गाडीको पहिचान गरेको हो । घटनापछि उक्त गाडी हंसपुर नगरपालिका ९ स्थित ढल्केवर–बालगङ्गा १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणाधीन भवनको परिसरमा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला परेको हो । गाडीको अघिल्लो भागमा क्षति रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्