सिमरामा सुनचाँदी व्यवसायी संघको विरोध र्याली : कर नीति फिर्ताको माग

सिमरा: सुनमा लगाइएको विलासिता कर र हिराको पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरुद्धमा जीतपुरसिमरा नगर सुनचाँदी व्यवसायी संघले शुक्रबार सिमरामा विरोध र्याली निकालेको छ।
केन्द्रीय कार्यक्रम अन्तर्गत आयोजित विरोध र्यालीमा सहभागी व्यवसायीहरूले सरकारको कर नीतिविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका थिए ।
सरकारले आर्थिक वर्ष २०८२।८३ को बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिराको पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएकोप्रति आपत्ति जनाउँदै सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका हुन्। उनीहरूले यस्तो कर नीति तत्काल फिर्ता लिन माग गरेका छन् ।
व्यवसायीहरूले चेतावनी दिँदै भनेका छन् ‘सरकारको नीति फिर्ता भएन भने आगामी साउन १ गतेदेखि देशभरका सम्पूर्ण सुनचाँदी पसल अनिश्चितकालका लागि बन्द गरिनेछ।’
नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा देशैभर विरोधका कार्यक्रमहरू भइरहेका छन्। माग पूरा नभए थप कठोर आन्दोलनका कार्यक्रम अघि बढाइने पनि महासंघले स्पष्ट पारेको छ । सिमरामा आयोजित विरोध र्यालीमा नगरभित्रका सुनचाँदी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
संघले यसअघि जिल्ला प्रशसान कार्यालय बारामार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाईसकेको छ । विरोध र्यालीमा संघका अध्यक्ष प्रेमलाल साह सोनार, सचिव केशव सुनुवार, व्यवसायी शिवजी साह सोनार, जितेन्द्र सर्राफलगायतको उपस्थिती रहेको थियो ।