वीरगन्जको बगहीमा ट्याक्टर दुर्घटनामा दुई किशोरको ज्यान गयो, एक घाइते

वीरगन्ज: वीरगन्ज महानगरपालिकाको बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको घटनास्थलमै ज्यान गएको छ भने एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा बगहीका १७ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेल रहेका छन्।
उनीहरू सवार रहेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त ट्याक्टर भेडाहा खोलाबाट माटो लिएर बगही गाँउतर्फ गइरहेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार आफैं अनियन्त्रित भइ पल्टिएको ट्याक्टरले च्यापेर चालक आकाश र साथमा रहेका गोलुको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा वीरगन्ज २८ इनर्वा गाँउका १९ वर्षीय जयकुमार मण्डल घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको भट्टले जानकारी दिए।