वीरगन्जमा गहवामाई रथ यात्रा सम्पन्न


eShilalekh

१३ असार २०८२, शुक्रबार १६:३१

वीरगन्ज: वीरगन्जस्थित गहवामाई मन्दिरको पुनर्निर्माण भएको १३ औं वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार गहवामाई रथ यात्रा भव्य रूपमा सम्पन्न भएको छ।

गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा सम्पन्न रथ यात्रा मन्दिर प्रांगणबाट सुरु भई नगर परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै समापन गरिएको थियो ।

काठबाट बनाइएको रथमा २६ केजी चाँदीले निर्मित डोलीमा गहवामाईको मूर्ति राखेर यात्रा सुरु गरिएको थियो। घण्टाघर चोक, रेल्वे रोड, अमर चोक, इदगाह चोक, छपकैया, विर्ता, आदर्शनगर हुँदै पुनः मन्दिर प्रांगणमा पुगेर रथ यात्रा सम्पन्न भएको हो ।

रथ यात्रामा पञ्चेबाजा, भगवाधारी झण्डा, धार्मिक झाँकीसहित भक्तजनहरूको विशाल सहभागिता रहेको थियो । यात्राका क्रममा विभिन्न स्थानहरूमा स्थानीय बासिन्दाले पुष्पवृष्टि गरेर देवीको स्वागत गरेका थिए ।

गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलका अनुसार यो रथ यात्रा २०८० सालदेखि नियमित रूपमा आयोजना हुँदै आएको छ । तेस्रो संस्करणको यसपटकको रथ यात्रामा अघिल्ला वर्षको तुलनामा बढी श्रद्धालुहरूको सहभागिता देखिएको उनले बताए । ‘हामीले अनुमान गरेभन्दा पनि बढी श्रद्धालुको उपस्थिति देखियो, एक लाखभन्दा बढी भक्तजन सहभागी भएको अनुमान छ’ पोखरेलले भने ।

रथ यात्रामा भारतको मध्यप्रदेश राज्यका मन्त्री रविकरण साहु, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायतको उपस्थिति रहेको थियो ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो रथ यात्रा क्षेत्रीय एकता, धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकको रूपमा स्थापित हुँदै गएको स्थानीयहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्