पथलैयामा फुटपाथ सरसफाइ कार्यक्रम सम्पन्न


eShilalekh

१४ असार २०८२, शनिबार ११:४४

पथलैया: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजनामा शनिबार बिहान पथलैयामा विशेष सडक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। पथलैयादेखि दक्षिणतर्फ करिब डेढ किलोमिटर दूरीको ६ लेन सडकको फुटपाथ सरसफाइ गरिएको कार्यक्रममा विभिन्न निकायको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बारा क्षेत्र नं. ४ का सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले सडक सरसफाइ जस्ता जनहितका कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्थानीय तह, प्रहरी प्रशासन र नागरिक समाजले संयुक्त रूपमा अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी, वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालले सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सडक प्रयोगकर्ताको सचेतना र व्यवस्थापनमा यस्तो अभियान फलदायी हुने विश्वास व्यक्त गरे।

सडक सरसफाइ अभियानमा जीतपुरसिमरा उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय सिमरा, मधेश सुरक्षा बेस, नगर प्रहरी, स्थानीयबासी, ईरिक्सा चालकलगायत सरोकारवाला निकायको सहकार्य देखिएको थियो।

समापन कार्यक्रममा ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहले सहजीकरण गरेका थिए। वातावरण संरक्षण र सडक सुरक्षालाई ध्यानमा राखेर गरिएको यो अभियानले नागरिकस्तरमै सकारात्मक सन्देश दिएको सरोकारवालाहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्