बारामा दुई सय १२ किलो लागूऔषध गाँजासहित चार जना पक्राउ

सिमराः जिल्ला प्रहरी कार्यालय बाराले ठूलो मात्रामा लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर थाहा नगरपालिका ४ तालुङका २८ वर्षीय रबि कार्की, मकवानपुर टिसटुङ १२ का ४६ वर्षीय बिर बहादुर गोले, मकवानपुर हेटौडा उपमहानगरपालिका १४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका ७ आपसी चौकका ३१ वर्षीय महेश तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले परवानीपुर गाउँपालिका ५ बहुअरीस्थित गण्डक नहर सडक खण्डमा चेकप्वाइन्ट स्थापना गरी सवारी तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा दुई सय १२ किलो ९२८ ग्राम लागूऔषध गाँजा फेला परेको हो ।
हेटौडाबाट आउँदै गरेकोे प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडी जाँचको क्रममा धानको भुसभित्र लुकाई राखिएको अवस्थामा लागूऔषध गाँजा फेला परेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जनाएका छन् ।
पक्राउ परेका चारै जनालाई हाल जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी लागूऔषध नियन्त्रणसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।