सिरहामा एक जनाको शव फेला, हत्याको आशंका

सिरहाः सिरहाको अर्नमा गाउँपालिका १ मा शनिबार बिहान एक जनाको शव फेला परेको छ ।
बुदियाचापस्थित खेतमा स्थानीय राम सेवक महराका अन्दाजी ३४ वर्षीय छोरा अजय महराको शव फेला परेको सिरहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताएका छन् ।
प्रहरीका अनुसार मृतक महरा आफ्नो घर भन्दा एक किलोमिटर दूरीमा रहेको खेतमा मृत भेटिएका हुन् । प्रारम्भिक सोधपुछमा महरा राती आफ्नो घरमा सुतिरहेका थिए । बिहान घरमा नभेटिएपछि उनको खोजि गर्दै जाँदा खेतमा शव भेटिएको प्रहरीले जनाएको छ ।
घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा शव फेला परेको हुँदा घटना शङ्कास्पद रहेको प्रहरी प्रवक्ता पासवानले बताए ।
शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ ।