बारामा दुई ट्रक ठोक्किँदा चालक घाइते, तीन घण्टापछि उद्धार

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका २१ चुरियामाई मन्दिरको जंगल क्षेत्रमा आइतबार राति दुई ट्रक एकआपसमा ठोक्किँदा घाइते भएका चालकलाई तीन घण्टापछि उद्धार गरिएको छ ।
दुर्घटनापछि स्टेरिङ च्यापिएका भरतपुर उपमहानगरपालिका १६ का ३५ वर्षीय अरुण श्रेष्ठलाई सुरक्षाकर्मीको सहयोगमा तीन घण्टापछि उद्धार गरिएको हो । ट्रकको झ्याल काटेर उनलाई बाहिर निकालिएको हो । उनको हेटौंडास्थित अस्पतालमा उपचार भईरहेको छ ।
हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका श्रेष्ठ ना६ख ३७६३ नम्बरको ट्रकको चालक हुन् । अर्का ट्रकका चालक सामान्य घाइते रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको नेतृत्वमा खटिएको टोलीले चालकको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।