‘कुलिङ पिरियड’ हेरफेर छानबिन गर्न सङ्घीय मामिलामन्त्री गुप्ताद्वारा सभामुखलाई आग्रह


eShilalekh

१७ असार २०८२, मंगलवार १७:५४

सिमराः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको हेरफेरमाथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै मन्त्री गुप्ताले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका हुन् ।

आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित गरिएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ को उद्देश्य र आशय नै उल्ट्याउनेगरी अनधिकृत ढङ्गबाट भएको हेरफेरप्रति मन्त्री गुप्ताले आक्रोश पोखेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकको प्रतिवेदन संसदमा लैजाने क्रममा हेरफेर भएको हुनसक्ने मन्त्री गुप्ताको आशङ्का छ । तालुक मन्त्रालयका मन्त्रीलाई नै झुक्क्याएर प्रतिवेदन पेस गरिनु गम्भीर आशङ्काको विषय भएको मन्त्री गुप्ताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्