वीरगन्जबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी रकमसहित तीन जना पक्राउ

सिमराः जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार स्रोत नखुलेको २८ लाखभन्दा बढी रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बाराको परवानीपुर गाउँपालिका ४ का ४४ वर्षीय दीपक कुमार सोनार, पर्साको पकहाँमैनपुर गाउँपालिका २ का २६ वर्षीय अनिल कुमार बर्णवाल र वीरगन्ज ३ आदर्श टोलका २३ वर्षीय बिनित कुमार श्रीवास्तव रहेका छन् ।
विशेष सूचनाका आधारमा वीरगन्जका विभिन्न स्थानबाट प्रहरीले २८ लाख २८ हजार रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
प्रहरीका अनुसार बर्णवाललाई स्रोत नखुलेको ९ लाख ४७ हजार रुपैयाँसहित वीरगन्ज महानगरपालिका १० मकालु चोकबाट पक्राउ गरिएको हो । यसैगरी कृषि विकास बैंक वीरगन्ज शाखा (वडा नं ८, लिंक रोड) बाट श्रीवास्तवलाई १५ लाख ८१ हजार रुपैयाँसहित पक्राउ गरिएको छ ।
यसैगरी सोनारलाई वीरगन्ज महानगरपालिका १६, रजतजयन्ती चोकबाट ३ लाख रुपैयाँ नगद र ना१६प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारको आशंकामा नियन्त्रणमा लिइएको हो पर्साका प्रवक्ता लम्सालले जनाएका छन् ।
पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।