जगदम्बा स्टिल्स भट्टी विष्फोट प्रकरणः प्रदेशसभा सदस्य चौधरीले पनि गरे छानविनको माग

सिमराः मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले पनि जगदम्बा स्टिल्समा बुधवार राति भएको भट्टी विष्फोट प्रकरणको छानविन हुनुपर्ने धारणा राखेका छन् । सांसद चौधरीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् ।
सीसीएम प्लान्टमा असार १८ गते राति भएको विस्फोटको घटना दुःखद् रहेको उल्लेख गर्दै चौधरीले घटनामा घाइते भएका श्रमीकको स्वास्थ्यलाभको कामना गरेका छन् । चौधरीले पटकपटक एउटै किसिमको घटना दोहोरिएकाले उद्योगको लापरवाही देखिएको समेत उल्लेख गरेका छन् ।
‘घटना श्रमीक सुरक्षाप्रति उद्योग प्रशासनको लापरवाही र गैरजिम्मेवारीपनको परिणाम हो’ चौधरीले भने ‘यो घटनाले पुनः एकपटक उद्योगको लापरवाही, श्रमिक सुरक्षाप्रति गैरजिम्मेवार र स्थानीयको स्वास्थ्य तथा वातावरणप्रति उदासीनता देखिएको छ ।’
जगदम्बा स्टिल्समा प्रयोग हुँदै आएको कच्चा पदार्थ पगाल्ने भट्टी र ग्याँस प्लान्टलाई तुरुन्तै अन्यत्र स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै जोखिम यथावत् रहँदासम्म भट्टी सञ्चालन नगर्न उद्योग प्रशासनलाई आग्रह गरेका छन् ।
यसअघि बारा क्षेत्र नं. ४ का सांसद किसान श्रेष्ठ र जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका थिए । यस घटनाको सम्बन्धमा स्थानीय सरकार जीतपुरसिमरा उपमहानगरपालिकाले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।