यस्तो बन्यो ‘जीतपुरसिमरा महिला सञ्जाल’

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ मा सम्पन्न महिलाहरुको भेलाले जीतपुरसिमरा महिला सञ्जाल गठन गरेको छ । भेलाले जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङको अध्यक्षतामा १९ सदस्यीय सञ्जाल गठन गरेको हो ।
सञ्जालको उपाध्यक्ष इन्दुकुमारी ढोडारी, सचिव शान्ताकुमारी बजगाईं (रिना), कोषाध्यक्ष लक्ष्मी पाण्डे चयन भएका छन् । यसैगरी सदस्यमा श्रीदेवी थरुनी, कमला घिमिरे, मञ्जुदेवी बानियाँ, मनकुमारी खनाल (मञ्जु), ज्ञानी पासवान, खैरुनेशा, पुनम चौधरी, संगिता चौधरी, शोभा केसी, कल्पना थापा, शारदादेवी रिजाल, रिनु पाख्रिन, बेलीकुमारी, सम्झना राई, सिमा ठकुरीलाई चयन गरिएको छ ।
राजनीतिक, सामाजिक र विभिन्न संघसंस्थामा सक्रिय महिलाहरुको सहभागितामा सञ्जाल गठन गरिएको हो । सञ्जालले उपमहानगरपालिका भित्र महिला महिला सशक्तीकरण, अधिकार र सुरक्षाका लागि काम गर्ने बताइएको छ ।
महिला सशक्तिकरणमा नेतृत्वदायी भूमिकाः
सञ्जालले नगरभित्र रहेका महिला समूह तथा संघसंस्थाबीच समन्वय गरी सशक्त नेतृत्व विकासमा सहयोग पुर्याउन सक्नेछ । यसैगरी सीप, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण लगायतका विषयमा कार्यक्रम गर्न सक्नेछ ।
लैङ्गिक हिंसा विरुद्धको क्रियाशीलताः
घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, मानव बेचबिखनजस्ता महिलामाथि हुने हिंसाका घटनामा सचेतना, निगरानी र दबाब दिन सक्छ । पीडित महिलालाई मनोसामाजिक सहयोग, न्यायिक प्रक्रिया र उद्धारमा समन्वय गर्न सक्छ ।
स्थानीय नीति निर्माणमा सहभागिताः
उपमहानगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा लैङ्गिक दृष्टिकोण समावेश गराउन सुझाव र सिफारिस गर्न सक्छ । लैङ्गिक उत्तरदायी बजेट सुनिश्चित गर्न दवाव र अनुगमन गर्न सक्छ । एकल महिला, अपाङ्ग महिला, दलित महिला, सिमान्तकृत समुदायका महिलाहरूका आवाज उजागर गर्न सक्छ । उनीहरूको हकहितका लागि सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र पैरवीको काम गर्न सक्छ ।
सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालनः
लैङ्गिक समानता, महिला अधिकार, स्वास्थ्य, शिक्षा, महिला उद्यमशीलताको विषयमा नगरभरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छ । विपद् व्यवस्थापन, वातावरण संरक्षण, स्थानीय सहकार्यमा महिला सहभागिता गराउन सक्छ । महिलालाई सूचना, सेवा र अवसरमा पहुँच बढाउन सूचनाको हक र डिजिटल पहुँचमा जोड दिने । उपमहानगरपालिका स्तरमा सञ्चालित महिला लक्षित कार्यक्रमहरूका विषयमा सुझाव दिन सक्ने सञ्जालकी अध्यक्ष चयन गुरुङले इशिलालेखलाई बताईन् ।
सञ्जाल गठन कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, पूर्वमधेशप्रदेश सभा सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले नेता किशोर शर्मा, कांग्रेस युवा नेतृ रिता रिजाललगायतको उपस्थिति रहेको थियो ।
