निजगढका दुई जना लागूऔषधसहित रौतहटमा पक्राउ


eShilalekh

२२ असार २०८२, आईतवार १४:२२

सिमराः सशस्त्र प्रहरीले शनिबार साँझ रौतहटको गुजरा नगरपालिका ३ स्थित जंगलशैया–सिम्री सडक खण्डको जङ्गल क्षेत्रबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका ८ का १८ वर्षीय नव बहादुर वाइबा र सोही ठाउमाँ बसोबास गर्दै आएका १९ वर्षीय दावा योञ्जन रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले जनाएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल फर्वाड सुरक्षा बेस जंगलशैयाबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा पक्राउ परेका दुवै जनाको साथबाट झोलामा लुकाइछिपाई राखेको अवस्थामा लागूऔषध बरामद गरेको हो ।

उनीहरूको साथबाट ट्रामोडोल ५० एमजी ३०० पिस, नाइट्राजेपाम ट्याब्लेट १० एमजीको १४० पिस, नेट्जेकेयर १० एमजी ५ पिस, नुफिन इन्जेक्सन १ थान, डाइजेपाम १ थान, फेनेरगन १ थान बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्