बजेटमा सहमति जुटेसंगै जीतपुरसिमराले बोलायो बाह्रौ नगरसभाको दोस्रो बैठक, यस्तो छ सहमति..

सिमराः बजेट बाँडफाँडमा सहमति जुटेसंगै जीतपुरसिमरा उपमहानगरपालिकाले बाह्रौ नगरसभाको दोस्रो बैठक बोलाएको छ । प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले आइतबार सूचना प्रकाशित गर्दै दोस्रो बैठक बोलाएका हुन् ।
यसअघि असार ९ गते बसेको पहिलो बैठक उद्घाटनलगत्तै स्थगित भएको थियो भने असार १८ गतेका लागि बोलाइएको दोस्रो बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत प्रसाईंद्धारा जारी सूचनाअनुसार अब बाह्रौ नगरसभाको दोस्रो बैठक असार २५ गते बस्नेछ । उक्त बैठकले नीति तथा कार्यक्रम, बजेट र विधेयक पारित गर्नेछ ।
बजेटका विषयमा आन्तरिक सहमति जुटेपछि नगरसभा बोलाइएको हो । सहमति अनुसार आर्थिक वर्ष २०८२।०८३ का लागि उपमहानगरपालिकाको बजेट दुई अर्व एक करोड हुनेछ । जसमध्ये बाँडफाँड योग्य रकम ४२ करोडको हुनेछ ।
बाँडफाँड योग्य रकमबाट कसले कति लिने भन्ने सहमति भएपछि नगरसभाको अन्यौलता हटेको हो । सहमति अनुसार बाँडफाड योग्य ४२ करोड रकमबाट नगर प्रमुख राजन पौडेलले १४ करोड, उपप्रमुख भोलाप्रसाद अधिकारीले ६ करोड ६० लाख, २४ वटा वडाले २० करोड र कार्यपालिका सदस्यले एक करोड ४० लाख पाउँनेछन् ।
१४ करोडबाट नगर प्रमुख पौडेलले प्रत्येक वडामा न्युनतम २५ लाखका दरले एउटा योजना अनिवार्य बनाउनुपर्नेछ भने ६ करोड ६० लाखबाट उपप्रमुख अधिकारीले प्रत्येक वडामा १० लाखको योजना राख्नुपर्नेछ । उक्त योजना वडाको सिफारिसमा तय हुनेछ । यसबाहेक अन्य रकमबाट प्रमुख र उपप्रमुखले वडास्तरीय योजना निर्माण गर्नेछन् ।
यसवर्षको २४ वटा वडाले कुल २० करोड बजेट पाएका छन् । उक्त २० करोडबाट वडाको सिलिङ तय हुनेछ । भूगोल, जनसंख्या हेरेर एउटा वडाले कति बजेट पाउने भन्ने निर्क्योल गरिनेछ ।
यसपटक कार्यपालिका सदस्यले पाउने बजेटको रकम समेत बढाइएको छ । सात जना कार्यपालिका सदस्यले २० लाखका दरले एक करोड ४० लाख बजेट पाउनेछन् ।
