कलैयामा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिमराः ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराका साथ कलैयामा स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कलैया उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
श्रमिकहरूको योगदानको कदर, अधिकारको संरक्षण, सुरक्षित कार्य वातावरणको सुनिश्चितता र उत्पादनशीलता अभिवृद्धि, छलफलको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् ।
स्थानिय सरकारका प्रतिनिधिले श्रमिक हितका लागि नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । यसैगरी निजी क्षेत्रका प्रतिनिधिहरूले श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्दै औद्योगिक सम्बन्ध सुधार्न प्रयत्नशील रहने बताएका छन् ।
रोजगार सेवा केन्द्र शाखाका प्रमुख विवेक गुप्ताले कार्यक्रमको औचित्यमा प्रकाश पार्दै कलैया उपमहानगरपालिकाभित्र करिब एक हजारभन्दा बढी बेरोजगारको तथ्यांक संकलन भएको र एक सय ५० जना रोजगारदाताको विवरण सङ्कलन गरिएको जानकारी दिए ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, उपप्रमुख रौशन प्रवीण, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादव र बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह लगायत विभिन्न क्षेत्रका सरोकारवाला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।