‘योगमाया स्मृति दिवस’ मा योगदानको स्मरण


eShilalekh

२२ असार २०८२, आईतवार १९:२३

सिमराः नेपाली नारी मुक्ति आन्दोलनकी अभियन्ता, साहसी र निडर महिला योगमाया न्यौपानेको स्मृति दिवसका अवसरमा आइतबार सिमरामा कार्यक्रम आयोजना गरिएको छ । समग्र उद्योग ट्रेड युनियन महासंघ नेपाल, केन्द्रीय महिला विभागले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, विशेष अतिथि एमाले प्रदेश कमिटी सचिव मनोज पौडेल, जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा, समग्र उद्योग ट्रेड युनियन मधेस प्रदेश अध्यक्ष हेमराज न्यौपाने, जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाह, मनोज चौधरी, सरु थापालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले स्व. योगमाया न्यौपानेको योगदानलाई स्मरण गर्दै उनको विद्रोही चेतना, महिला मुक्ति आन्दोलनमा देखाएको साहस र समर्पणको उच्च मूल्यांकन गरेका थिए । योगमाया नेपाली समाजमा व्याप्त अन्धविश्वास, छुवाछूत र लैङ्गिक विभेदविरुद्ध बोल्ने पहिलो विद्रोही नारी थिइन् ।

कार्यक्रममा वक्ताहरूले योगमायाको सोच र योगदानलाई आजको सन्दर्भमा अझ बढी स्मरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनका विचार र संघर्षलाई नयाँ पुस्तामाझ पुर्याउन आग्रह गरेका छन् । कार्यक्रमले समाज परिवर्तन र न्यायको पक्षमा उठ्ने आवाजलाई प्रेरणा दिने उद्देश्य राखेको आयोजकको भनाई छ ।

अन्धविश्वास, छुवाछूत र लैङ्गिक विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी योगमायाले वि.सं. १९९८ असार २२ गते अरुण नदीमा जलसमाधि लिएकी थिईन् । योगमायासंगै ६८ जनाले उक्त दिन अरुण नदीमा जलसमाधि लिएका थिए ।

कार्यक्रम केन्द्रीय महिला विभाग सदस्य सम्झना लामाको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्