महासेठको घोषणा: ‘एमाले–कांग्रेस गठबन्धन ८४ सम्म स्थायी’


eShilalekh

२२ असार २०८२, आईतवार १९:३४

जनकपुरधाम: नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच बनेको सत्ता गठबन्धन २०८४ सालसम्म कायम रहने स्पष्ट गरेका छन्। प्रेस चौतारी नेपाल धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा महासेठले वर्तमान सत्ता गठबन्धनलाई अस्थिर बनाउने प्रयास भइरहे पनि त्यो सफल नहुने बताए ।

महासेठले सत्ता पक्षकै केही सांसदले सरकारलाई असफल बनाउने उद्देश्यले अनावश्यक चलखेल गरिरहेको आरोप लगाए । तथापि एमाले र कांग्रेसका शीर्ष नेताहरूबीचको आपसी समझदारी र परिपक्व नेतृत्वका कारण गठबन्धन अझै मजबुत बन्दै गएको उल्लेख गरे ।

‘गठबन्धनलाई तोड्न माओवादी केन्द्रले सुरुदेखि नै प्रयास गरिरहेको छ, तर त्यो सम्भव छैन’ उनले भने । वर्तमान सरकारको कार्यसम्पादन विगतका गठबन्धन सरकारहरूको तुलनामा उत्साहजनक रहेको महासेठको भनाई थियो ।

महासेठले आर्थिक तथा सामाजिक सूचकमा वर्तमान सरकारको कामले सुधार ल्याएको पनि दाबी गरे। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच अन्तरविरोध रहेको भनिएको विषय हल्लामात्र भएको महासेठले स्पष्ट पारे।

‘पूर्वराष्ट्रपति पार्टीमा फर्किएको कुरालाई अन्यथा लिनु हुँदैन’ महासेठले भने ‘उहाँ न त कुनै कित्तामा हुनुहुन्छ, न त पार्टीको नीति विपरित काम गर्नुहुन्छ। उहाँले पार्टीको नीति र सिद्धान्तअनुसार भूमिका निर्वाह गर्नुहुनेछ।’

कार्यक्रममा एमाले नेतृ एवम् पूर्वमन्त्री जुलीकुमारी महतोले विश्वविद्यालय भवनको विषयमा अनावश्यक राजनीति हुने गरेको भन्दै पत्रकारहरूलाई त्यसको पर्दाफास गर्न आग्रह गरिन्। उनले जनकपुरको विकासका लागि आफू निरन्तर क्रियाशील रहेको जनाउँदै केही नेताहरूले विकास विरोधी गतिविधिबाट जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाइन्।

पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल धनुषा अध्यक्ष नविन मिश्र प्रियदर्शीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य हरिनारायण महतो, प्रदेशसभा सदस्य लखनदासलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्