अमलेखगञ्जमा तेलजन्य पदार्थको अवैध कारोबारः चालक पक्राउ, गिरोहको खोजी सुरु

सिमराः प्रहरीले तेलजन्य पदार्थको कारोबार भईरहेको स्थानबाट एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्जबाट आइतबार २१ वर्षीय सुवास चौधरीलाई पक्राउ गरेको हो ।
जीतपुरसिमरा १२ फत्तेपुर घर भएका चौधरी ट्रकका चालक हुन् । प्रहरीले उनलाई ना१क २८३६ नम्बरको ट्रकसहित नियन्त्रणमा लिएको हो । तेल भरिएको ग्यालेन ट्रकमा लोड गरिरहेको अवस्थामा चौधरी पक्राउ परेका हुन् ।
ट्यांकरबाट तेल चोरी गरी विक्रीवितरण भईरहेको भन्ने सूचना पाएपछि प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले उक्त स्थानबाट झण्डै १० लाख मूल्यबराबरको तेलजन्य पदार्थसहित पेट्रोल, डिजल, मट्टितेल बरामद गरेको छ ।
प्रहरीका अनुसार पाँच हजार सात सय ९५ लिटर वनस्पतीजन्य तेलजस्तो पदार्थ, एक हजार लिटर पेट्रोल, ६ सय लिटर डिजल, ६ सय लिटर मट्टितेल बरामद गरिएको हो । ड्रम र ग्यालेनमा भरेर राखेको अवस्थामा उक्त तेलजन्य पदार्थ बरामद भएको हो ।
पेट्रोल, डिजल र मट्टितेलको पहिचान भएपनि वनस्पतीजन्य तेल पदार्थको पहिचान हुन सकेको छैन । प्रहरीले उक्त पदार्थको परीक्षण गर्ने तयारी गरिरहेको छ ।

जीतपुरसिमरा २२ स्थित विष्णुराज ठकुरीको जग्गामा स्थानीय सुरेश आलेद्धारा संचालित गाडी धुने ग्यारेज पछाडि गोप्यरुपमा उक्त कारोबार भईरहेको थियो । गाडी धुने ग्यारेजको आवरणमा उक्त अवैध कारोबार भएको हुनसक्ने आशंकासहित प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले पक्राउ परेका ट्रक चालकबाट अनुसन्धान थालेको छ । ट्रक चालकले आफूलाई सवारीधनीले लोड गर्न पठाएको प्रारम्भिक बयान दिएका छन् । प्रहरीले सवारीधनीको खोजी सुरु गरेको छ ।