दुग्ध र पशुपालक किसानको पक्षमा गम्भीर हुन सांसद मैनालीले गराए ध्यानाकर्षण


eShilalekh

२३ असार २०८२, सोमबार १५:५४

सिमराः बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनालीले दुग्ध उत्पादनसँग जोडिएका किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न र पशुपालनसम्बन्धी सेवा प्रणालीलाई सरल बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद मैनालीले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरूबाट देशभरका किसानहरूले पाउनुपर्ने झण्डै पाँच अर्ब रुपैयाँ विगत ६ महिनादेखि भुक्तानी नपाएको उल्लेख गरे । उनले कृषकहरू आर्थिक संकटमा परेको भन्दै भुक्तानीको प्रक्रिया तत्काल अगाडि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

‘कृषि र पशुपालन जनताको जीवन र जीविकाको आधार हो, त्यसैले किसानले उत्पादन गरेबापतको पैसा समयमा पाउनैपर्छ’ सांसद मैनालीले भने । सहुलियतपूर्ण कृषि ऋण प्रदान गर्ने कार्यक्रम रोकिएकोप्रति पनि चिन्ता व्यक्त गर्दै मैनालीले पशुपालक किसानलाई आर्थिक सहुलियत दिन सरकारसँग आग्रह गरे ।

दुग्ध उत्पादनमा लागत बढिरहेको सन्दर्भमा स्थानीय तह मार्फत सशर्त बजेटमार्फत लागत न्यूनीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने मैनालीको भनाई थियो ।

पशु बीमा प्रणाली सुधार गर्न माग गर्दै सांसद मैनालीले बीमा प्रक्रियामा कृषक, बीमा कम्पनी, बीमा प्राधिकरण र पशु प्राविधिकले एउटै विवरण बारम्बार प्रविष्ट गर्नुपर्ने झन्झटिलो व्यवस्था अन्त्य गर्न आग्रह गरे । उनले सेवा प्रवाह छरितो र प्रभावकारी बनाउन अनलाइन प्रणालीलाई एकीकृत गर्न अर्थ मन्त्रालय, कृषि मन्त्रालय, बीमा कम्पनी र बीमा प्राधिकरणको ध्यानाकर्षण गराए ।

मैनालीले पशु बीमाको अनुदान सिफारिसका लागि कृषि ज्ञान केन्द्रबाट सिफारिस लिनुपर्ने व्यवस्था हटाई स्थानीय तहकै पशु सेवा शाखाबाट नै यो प्रक्रिया सम्पन्न हुने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन् । कृषकको जीवन सहज र समृद्ध बनाउन नीति र प्रणालीमै सुधार आवश्यक रहेको बताउँदै मैनालीले जसको लागि सरकारले तत्काल पहल लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्