अमलेखगञ्जबाट एक करोडभन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा

सिमराः बारा प्रहरीले एक करोडभन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा बिल बिजकभन्दा फरक र भन्सार नकटाई ल्याइएका सामान फेला परेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामानहरूमा कस्मेटिक सामग्री, कोकोनट र बदाम, विभिन्न प्रकारका कपडा, सर्किजल सामान, इलेकट्रोनिक उपकरणहरू, मोबाइलका पाटपुर्जा, औषधिजन्य सामग्री रहेका छन् ।
प्रहरीका अनुसार उक्त ट्रकबाट बरामद भएको सामानहरुको मूल्य करिब एक करोड २५ लाख २४ हजार १० रुपैयाँ रहेको छ ।
उक्त सामान र ट्रकलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।