खानेपानी समस्या समाधानका लागि सबै तहमा समन्वय आवश्यकः मन्त्री यादव

सिमराः तराई–मधेसका जिल्लामा जटिल बन्दै गएको खानेपानी समस्या समाधानका लागि खानेपानी मन्त्री प्रदीप यादवले सबै सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्न अपिल गरेका छन् ।
जलवायु परिवर्तनका कारण बारा, पर्सा, रौतहटलगायतका जिल्लामा चापाकल सुक्न थालेपछि जनजीवन प्रभावित भएको भन्दै मन्त्री यादवले सामाजिक सञ्जालमार्फत सहानुभूति प्रकट गर्दै समस्या समाधानका लागि सरकार सक्रिय रहेको बताएका छन् ।
मन्त्री यादवले वीरगन्ज महानगरपालिकाका विभिन्न प्रभावित वडा, टोल र घर–घरमा पुगेर स्थलगत अनुगमन गरेका छन् । खानेपानी समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सा र वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानमा हालसम्म दुई सय ३७ भन्दा बढी डिप बोरिङ जडान भईसकेको उनले बताए ।
वीरगन्जमा एसियाली विकास बैंकको सहयोगमा चार अर्ब ५० करोड रुपैयाँ लागतमा बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिए ।
मन्त्री यादवले प्रदेश सरकार, स्थानीय तह तथा खानेपानी र सरसफाइ क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई सहकार्य र सहयोगका लागि अपिल गरेका छन् ।