धनुषामा चक्कु प्रहार गरी ससुराको हत्या


eShilalekh

२५ असार २०८२, बुधबार १८:४६

सिमराः धनुषा प्रहरीले ससुराको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ५५ वर्षीय बेचन महासेठ रहेका छन् । महासेठ आफ्नै ससुरा जनकपुरधाम उपमहानगरपालिका १५ का ६५ वर्षीय वासुदेव प्रसाद साहमाथि चक्कु प्रहार गरी फरार भएका थिए ।

प्रहरीका अनुसार महासेठले गत असार १८ गते पारिवारिक विवादका कारण साहको पेटमा चक्कु प्रहार गरी हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट चक्कु र आरोपी चढेको प्रदेश ०२–००७प ९९३२ नम्बरको स्कुटर समेत बरामद गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्