रौतहटमा श्रोत नखुलेको १२ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

रौतहटः रौतहट प्रहरीले बिहीबार बिहान ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका २ का चन्दन पण्डित रहेका छन् ।
भारतबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको बीआर०३जे ९५४३ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा प्रहरीले १२ लाख भन्दा बढी स्रोत नखुलेको रकमसहित पण्डितलाई नियन्त्रणमा लिएको हो ।
मधेस प्रदेशका प्रहरी प्रमुख डीआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार पण्डितको झोलाबाट स्रोत नखुलेको १२ लाख ७३ हजार ३ सय बरामद भएको हो । झोलाबाट ९ लाख २८ हजार पाँच सय रुपैयाँ नेपाली र दुई लाख १५ हजार भारतीय रुपैयाँ फेला परेकोे छ ।
स्रोत नखुलेको रकम र मोटरसाइकलसहित पक्राउ परेका पण्डितलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।