बाढीमा बगेर एक बालक बेपत्ता, अर्का बालकको सकुशल उद्धार

रौतहटः रौतहटको माधवनारायण नगरपालिका ८ स्थित बाग्मती नदीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् भने अर्का बालकको सकुशल उद्धार गरिएको छ ।
बेपत्ता भएका बालक स्थानीय १३ वर्षीय सुधीर पासवान रहेका छन् । बुधबार दिउँसो घर नजिकै बाग्मती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न सुधीरसँगै १३ वर्षीय शिवजी पासवान पनि गएका थिए । दुवैजना दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेको प्रहरीले जनाएको छ ।
शिवजीलाई स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सरोज डल्लाकोटीले जानकारी दिए ।
बेपत्ता बालक सुधीरको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।