बारामा अनिश्चितकालीन यातायात बन्द फिर्ता

सिमराः बारामा सार्वजनिक यातायात व्यवसायीहरूले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय बारामा प्रशासन र यातायात व्यवसायीबीच भएको सहमति पश्चात यातायात बन्द फिर्ता भएको हो । बस, म्याजिक भ्यान र ईभि गाडी लगायतका यातायात संघसंस्थाहरुले विभिन्न माग राख्दै बुधबारदेखि कलैयाको भरत चोकमा गाडी रोकि यातायात बन्द गरेका थिए ।
बिहीबार बसेको बैठकले सार्वजनिक यातायात संचालन एवं व्यवस्थापन सहजीकरण गर्नका लागि सात दिन भित्र जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा, कलैया उपमहानगरपालिका र यातायात व्यवसायीको समेत प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साह, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रहरी उपरीक्षक सन्तोष तामाङ, आन्दोलन समिति, सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो ।