पर्सागढीबाट अवैध काठ तस्करीमा संलग्न दुई जना पक्राउ


eShilalekh

२९ असार २०८२, आईतवार १४:३४

सिमराः पर्साको पर्सागढी नगरपालिका क्षेत्रबाट सालको अवैध काठ तस्करीमा संलग्न दुई जना तस्करलाई बन गस्ती टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सागढी ४ पसरामपुरका अब्दुला देवान र वीरगन्ज महानगरपालिका ३१ मिलनचोकका जोखुवा रहेका छन् ।

सब डिभिजन वन कार्यालय सबैयाका रेन्जर भूपाल रोकायको नेतृत्वमा खटिएको गस्ती टोलीले सबैयास्थित साझेदारी वन क्षेत्रबाट सालको गोलिया साइकलमा बोकेर रतनपुरतर्फ लैजाँदै गर्दा पर्सागढी ४ भेडाहा टोल नजिकै उनीहरूलाई नियन्त्रणमा लिएको हो। ।

गस्ती टोलीले उनीहरूको साथबाट चार थान सालको गोलिया र तस्करीमा प्रयोग गरिएको साइकल समेत बरामद गरेको छ । उनीहरूसँगै रहेका अन्य दुई जना भने गस्ती टोली देखेपछि फरार भएको रेन्जर रोकायले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगन्जमा बुझाइएको छ । फरार तस्करहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्