बारामा लागूऔषधविरुद्ध ‘ड्रप ड्रग्स’ अभियान सुरु


eShilalekh

३१ असार २०८२, मंगलवार १५:२६

सिमराः बारामा लागूऔषध दुव्र्यसनविरुद्ध सोमबारदेखि ‘ड्रप ड्रग्स’ अभियान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङको नेतृत्वमा उक्त अभियान सुरु गरिएको हो।

अभियानको पहिलो चरणमा जिल्लाका विभिन्न स्थानबाट लागूऔषध सेवन तथा दुव्र्यसनी गरिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि अनुसन्धान सुरु भइसकेको र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

अभियान अन्तर्गत गाँजा खेती तथा उत्पादन गर्ने स्थानको पहिचान गरी खेती तथा उत्पादन नष्ट गर्ने, अवैध खेतीलाई निरुत्साहित गर्न स्थानीय पालिकासंग समन्वय गरी चेतनामुलक जागरण गर्ने, स्थानीय सरकारसंग समन्वय गरी वैकल्पिक खेती लगायत अन्य आय आर्जनका कार्यक्रम लागू गर्ने, खुल्ला रुपमा हुने ओसारपसार तथा बिक्रिवितरण नियन्त्रण गर्ने प्रहरी उपरीक्षक तामाङ्गले बताए ।

अवैध ओसारपसार र बिक्री–वितरण नियन्त्रणका लागि सम्भावित स्थानमा निगरानी बढाइनेछ। सीमानाका क्षेत्रमा १४ वटा प्रहरी पोष्ट स्थापना गरी २४ सै घण्टा जाँच प्रणाली लागू गरिनेछ। आवत–जावत गर्ने शंकास्पद व्यक्ति तथा सवारीसाधनहरूको निगरानी गरी आवश्यक परे नियन्त्रणमा लिइनेछ। सादा पोशाकमा प्रहरी परिचालन गरेर सूचना संकलनलाई अझ प्रभावकारी बनाइने तामाङले बताए।

त्यस्तै, प्रयोगविहीन शौचालय, जिर्ण भवन तथा झाडीमा बसेर लागूऔषध सेवन गर्नेहरूमाथि कडाइ गरिनेछ। लागूऔषध सेवन गर्ने व्यक्तिहरूको पहिचान गरी लागूऔषध ब्युरोबाट मगाइएको ‘किट’ प्रयोग गरी परीक्षण गरिने पनि तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्