लागूऔषध ओसारपसारमा संलग्न तीन जना पक्राउ


eShilalekh

३२ असार २०८२, बुधबार ११:१८

सिमराः बारा प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मोतिहारी बिजबनी पञ्चायत थाना जितना २ रेगनीया टोलका १९ वर्षीय कन्हैया कुमार यादव, २६ वर्षीय बलिराम कुमार यादव र वडा नं १ बलुवा टोलका २० वर्षीय वकिल कुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका २ चपुरी चौकबाट उनिहरुलाई पक्राउ गरेको हो ।

असार २९ गते इलाका प्रहरी कार्यालय महेन्द्रजयनगर बाराबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिका ४ हर्नैया चौकमा दुई वटा आँपको क्यारेटमा बेवारिसे अवस्थामा प्रतिबन्धित लागूऔषध एम्पुल चार हजार पाँच सय पिस बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा बरामद लागूऔषध भारतको बिहार राज्य मोतिहारी जिल्लाका तीन व्यक्तिहरूले लुकाईछिपाई राखेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्