निजगढबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला, तीन जना पक्राउ


eShilalekh

३२ असार २०८२, बुधबार १३:०८

सिमराः बारा प्रहरीले मोटरसाईकल चोरी घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ ७ योजना टोलका २५ वर्षीय चमन मगर, जिल्ला रौतहट गरुडा नगरपालिका २ का ३० वर्षीय राम प्रवेश महरा र गुजरा नगरपालिका २ का २६ वर्षीय रोशन मगर रहेका छन् ।

यही असार २४ गते राति निजगढ ६ का बालकृष्ण हुमगाईको मधेश प्रदेश ०३प७५१० नम्बरको मोटरसाईकल चोरी हुँदा उनले ईलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएका थिए ।

अनुसन्धानको क्रममा असार ३१ गते योजना टोलमा संकास्पद अवस्थामा हिँडिरहेको चमनलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सो मोटरसाइकल चोरी गरी रोशनलाई बिक्री गरेको प्रहरी निरिक्षक जिवन लामिछानेले जानकारी दिए ।

रोशनलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा उनले सो मोटरसाइकल गरुडाको झाझपुल चोकमा रहेको न्यू राजन वर्कशपका सञ्चालक राम प्रवेशलाई रु ३१,००० मा बिक्री गरेको बयान दिएका थिए ।

ईलाका प्रहरी कार्यालय निजगढले ईलाका प्रहरी कार्यालय गरुडा रौतहटसँगको समन्वयमा असार ३१ गते राम प्रवेश र रोशनलाई नियन्त्रणमा लिई उनको घरमा खानतलासी गर्दा बिना नम्बर प्लेटको सो यामाहा मोटरसाइकल फेला पारेको हो ।

प्रहरीले मोटरसाइकलसहित चोरी अभियोगमा पक्राउ परेका तीनै जनामाथी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्